भगवान खनाल
फागुन, २ गोरखा
सीताराम चेपाङले गाउँमा बिजुली आउँला र केटाकेटीले उज्यालोमा पढ्न पाउँलान् भन्ने सोचेका पनि थिएनन् । भूमाया चेपाङले मोबाइल किनेपनि बिजुली नहुँदा चार्ज गर्न पाएकि थिइनन् । हातहातमा मोबाइल त थियो, तर चार्ज गर्न नपाउँदा छिमेकीको घरमा धाउनुपर्नाले माङराङका सबैलाई समस्या रहेको स्थानीय युवा सोमबहादुर चेपाङ बताउँछन् । छिमेकीले सोलार बत्ति राखेकाले मोबाइल चार्ज गर्ने उनले बताए ।
तर, एक महिना अघिदेखि अधिकांश चेपाङहरुको मात्र वस्ती रहेको धादिङ जोगीमाराको माङराङमा बिजुली पुगेको छ । सहास नेपाल नामक एक गैरसरकारी संस्थाको नेतृत्वमा विभिन्न सरकारी र गैरसरकारी निकायहरुको सहयोगमा बनेको लघु जलुविद्युतबाट माङराङमा बिजुली सुविधा पुगेको हो । स्थानीय माङराङ खोलाबाट निकालिएको २.५ किलोेवाट क्षमताको लघुजलविद्युतबाट ४८ घर परिवारले सुविधा पाएका छन् । बिजुली नहुँदा एक महिनामा एक लिटर मट्टितेलले जीवन गुजारा गर्नु परेको अधिकांश माङराङबासीहरु बताउँछन् । “मट्टितेल सकिन्छ भनेर केटाकेटीलाई पढ्न पनि दिदैनथ्यो,” माङराङबासी भन्छन्, “बिजुलीले केटाकेटीको पढाइमा सुधार गर्ले आशा राखेका छौं ।” यहाँ ३२ घर चेपाङ, दुई घर दलित र केही घलेमगरहरु बसोबास गर्छन् ।
सो लघु जलविद्युतमा सहास नेपालको २ लाख ५० हजार, जोगीमारा र चितवनको काहुले गाविसको बीस÷बीस हजार, रिम्स नेपालको ५० हजार, एमाओवादी जोगीमारा पाटीको २१ हजार रुपैयाँ लगानी भएको छ भने स्थानीयहरुले ९ लाख रुपैयाँ बराबरको श्रमदान गरेका छन् ।
१५÷२० वर्ष बिजुली नपुग्ने ठाउँमा गैरसरकारी संस्थाहरुको पहलमा बिजुली पुगकोमा धादिङका राजनितिक दलका नेताहरु समेत खुशी छन् । बिजुली पुगेपछि संचारको क्षेत्रमा स्थानीयहरुको बलियो पकड पुगेको सहास नेपालको गोरखा, तनहुँ र धादिङको इलिप परियोजनाका प्रमुख जीवनाथ शर्मा बताउँछन् । राज्यको आँखामा जहिलेपनि उपेक्षित बनिरहेको स्थान र गरीब जनतामा सुविधा पुराउन गैरसरकारी निकायहरुले भूमिका खेलिरहेको शर्मा बताउँछन् । पूर्व सभासद् एवं एनेकपा माओवादीका नेता शालिकराम जमरकट्टेलले नीजि क्षेत्रले जस्तै दलहरुले विकासमा राजनीति गर्न नहुने बताउँछन् ।
यस्तै, सहासको अगुवाइमा धादिङको पीडा ४ मा १० किलोवाट लघुजलविद्युत आयोजना बनेको छ । यस आयोजनाबाट स्थानीय चेपाङ समुदायदेखि एक सय भन्दा घर परिवारले बिजुली सुविधा उपयोग गरिरहेका छन् । स्थानीय कालिकादेवी महिला समूहको १८ लाख जन श्रमदानमा बनेको लघु जलविद्युतमा बैकल्पिक उर्जा केन्द्रको १२ लाख ५० हजार, प्याफ र फोकस नेपालको ७ लाख, सहास नेपालको ५ लाख, पीडा गाविसको ३ लाख ५० हजार र समूहको २ लाख लगानी भएको शर्माले जानकारी दिए । गाउँमा बिजुली पुगेसँगै स्थानीयहरुले राइस मील पनि संचालन गर्ने उद्धेश्य राखेका छन् ।