स्थानीयकै प्रयासमा फोहोर व्यवस्थापन
भगवान खनाल
आँबुखैरेनी
समाजले पहलकद्मी लिने हो भने ससाना कामको लागि सरकारको मात्र मुख ताक्नु पर्दैन भन्ने उदाहरण आँबुखैरेनी बजारबासीले उदाहरण देखाएका छन् । उनीहरुले बजारमा निस्कने फोहोरलाई आफैंले व्यवस्थापन गरी अनुकरणीय काम गरेका हुन् । आँबुखैरेनी गाविसको वडा नं. ६ को घनाबस्तीको आँबुखैरेनी बजारबासीले घरेलु फोहोरको व्यवस्थापन चार पाँच वर्षदेखि समुदायको पहलमा गर्दै आएका हुन् ।

फोहोर लैजादै रिक्सा . तस्बिर ःभगवान खनाल

भान्साका फोहोरदेखि पसलबाट निस्कने घरेलुजन्य फोहोरको व्यवस्थापन उनीहरु आफैंले गरेका हुन् । बजारमा रहेका लगभग आधा दर्जन टोल सुधार समितिहरुको पहलमा बजारको फोहोर दिनहुँ रिक्सामार्फत निश्चित स्थानमा लगेर फालिदैं आइएको हो । रिक्सा चलाउनेहरुले मासिक रुपमा २५ सयदेखि ३ हजारसम्म शुल्क लिएर फोहोर बोक्दै आएका छन् । स्थानीयहरुले विभिन्न टोलसुधार समितिहरु स्वतस्फूर्त रुपमा गठन गरेर फोहोर व्यवस्थापनको काम गर्दै आएका हुन् ।
सिद्दिगणेश, चिसापानीचोक, आँबुखैरेनीचोक, बीचबजार, डाँडाटोल, मनकामनाचोक लगायतका टोलसुधार समितिहरुमा संगठित भई उनीहरुले फोहोरको व्यवस्थापन गर्दै आएका हुन् । हरेक टोलको फोहोर रिक्सामार्फत बजारभन्दा परको राजमार्गको छेउमा फालिदै आइएको छ । फोहोर बनाउने पनि आफैं, सफा बनाउने पनि आफैं भएपछि बजार र घर जतिबेला पनि सफा भइरहेको आँबुखैरेनीस्थित प्राथमिक आँखा क्लिनिकका संचालक अनिल श्रेष्ठले बताए ।
स्थानीय टोलसुधार समितिहरु कुनै जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका छन् कुनै तदर्थ मात्र छन् । तर पनि उनीहरुले बजार सरसफाइमा आफ्नै नियम र मापदण्ड बनाएर बजार सरसफाइमा कुनै कसुर बाँकी राखेका छैनन् । तदर्थ अवस्थामा मात्रै रहेको आँबुखैरेनी चोक टोल सुधार समितिले गठन भएको करिब ६ वर्षको अवधिमा आफ्नो टोलको फोहोरको व्यवस्थापनसँगै बजारमा रात्री बत्ति र बजारको सुरक्षाको लागि रातीको लागि पाले समेत राखेको छ । टोलमा आबद्ध भएका करिब एकसय घरले मासिक रुपमा प्रतिघर सय रुपैयाँ उठाएर यी कामहरु गरिरहेको टोलका अध्यक्ष यमबहादुर गुरुङले बताए । सफाइ र सुरक्षामा खटिएका कर्मचारीलाई दशैंमा ५÷५ सय बोनस, जाडो महिनामा एकजोर न्यानो कपडा समेत दिने गरेको गुरुङ बताउँछन् । सिद्धिगणेश टोल सुधार समितिका उपाध्यक्ष गणेश श्रेष्ठ बजारमा दिनमा लगभग एक टन फोहोर उठ्ने गरेको र यसको व्यवस्थापन गर्न बजारबासी सक्षम रहेको बताउँछन् । टोलका सदस्यले तिर्ने मासिक शुल्क लगायतका अन्य श्रोतहरु जुटाएर आफ्नै खर्चमा फोहोर व्यवस्थापन गरिरहेको उनले बताए ।
उनीहरुले फाल्ने फोहोर बजारभन्दा केही पर राजमार्ग छेवैमा फालिने गरिएकोले असोभनीय जस्तै देखिएको छ । यसलाई पनि हल गर्नुपर्ने देखिन्छ ।
51.491306
-0.188674
Like this:
Like Loading...
Related