कैलासबावु श्रेष्ठ/गोरखा
१४ असोज । नेपालकै धार्मिक तथा पर्यटकीय थलो मानिएको गोरखाको मनकामनामा सञ्चालित केवलकार अनियमीत लोडसेडिङ्गका कारण समस्यामा परेको छ ।
गएको बैशाख यता केवलकारमा आउने विद्युत सेवामा दैनिक जसो दर्जनौ पटक अनियमीत रुपमा लोडसेडिङ्ग भए पछि कम्प्यूटर, सरोवर र जेनेरेटर विग्रीएको तथा अन्य मेशिनरी सामान विग्रीए पछि समस्यामा परेको हो ।
मनकामना दर्शन प्रा.लि.द्वारा सञ्चालनमा ल्याएको केवल कार चितवनको चेरेस देखी गोरखाको मनकामना मन्दिर सम्म चल्ने गरेको छ । विद्युत सेवा अनियमीत भै दिदा केवलकारमा प्रयोगमा आएका मेशीनरी सामान अहिले सिंगापुर देखी मगाउनु परेको केवलकारका स्टेशन म्यानेजर डि.एन.कायस्थ बताउनु हुन्छ ।
स्टेशन नजिक रहेको तनहुँको आँवुखैरेनी देखी लगिएको विद्युतमा विगत पाँच छ महिना देखी यस्तै समस्या आएको भन्दै स्टेशन म्यानेजर कायस्थले तालिका भन्दा बाहिर रहेर केवलकार बन्द गनुपर्ने सम्मको बाध्यता रहेको बताए । केवलकारले अहिले सम्म यात्रुको सुरक्षालाई ध्यानमा राखेर नियमीत तालिका अनुसार बन्द गरेर मात्र मर्मत गर्दै आएको छ ।
म्यानेजर कायस्थका अनुसार यसरी विद्युत अनियमीत भै दिदा केवलकारले चर्को शुल्क लाग्ने जेनेरेटर सञ्चालनमा ल्याउनु परेको दुखेसो पोख्नुका साथै २० वर्षलाई अनुमान गरी ल्याएको सामान १५ वर्षमा नै सकिएको बताए । सात देखी आठ रुपैयाा यूनिटमा पाइने विद्युत सेवा जेनेरेटर चलाउदा पैतिस रुपैया सम्म पुग्ने गरेको छ ।
नेपाल सरकारले औद्योगिक क्षेत्रका लागि छुट्टै विद्युत लाइन विस्तार गर्ने भनिएको भएता पनि गोरखा र यस आसपास चल्ने उद्योगको लागि कुनै ब्यवस्था गरेको छैन । मनकामना दर्शन गर्न जानेहरुका लागि असोज देखी चैत्र सम्म सिजन मानिन्छ । यो सिजनमा मात्र दैनिक जसो ६ हजार देखी १० यात्रुले केवलको दैनिक यात्रा गरी रहेका हुन्छन ।
यो बर्ष केवलकार यात्रा गर्नेमा नेपाली संख्या घटेको र भारतीयको संख्यामा वृद्वि भएको केवलकार प्रशासनले जनाएको छ ।
V