तनहुँ १ बाट नेपाली काँग्रेसका उमेद्वार
संविधान सभा निर्वाचनको लागि प्रचारप्रसारको सिलसिलामा आँबुखैरेनी बजार आइपुगेका नेपाली काँग्रेसबाट तनहुँ क्षेत्र नं. १ का उमेद्वार शंकर भण्डारीसँग आँबुखैरेनी पोष्टले गरेको संक्षिप्त कुराकानी ः
प्रश्न ः तपाईंको प्रतिस्पर्धा कोसँग हुदैछ ?
मेरो नेकपा एमालेसँग प्रतिस्पर्धा हुदैछ । ०६४ सालको संविधान सभाको निर्वाचनमा भन्दा अहिले परिस्थिति परिवर्तन भइसकेकोले एमालेका उमेद्बारसँग मेरो प्रतिस्पर्धा हुने आँकलन गरेको छु ।
प्रश्न ःत्यसो भए निर्वाचन क्षेत्रमा उमेद्वारीको कसरी प्रचार प्रसार गरिरहनु भएको छ ?
गाउँगाउँमा रहेका गाउँ कार्य समितिहरु मार्फत भेला गर्दै, मतदाताको घर दैलो गर्दै, निर्वाचन बुथ समितिहरुलाई परिचालन गर्दै आफ्नो उमेद्वारीको प्रचार गरिरहेको छु ।
प्रश्न ः अनि जिल्ला तहमा ?
जिल्ला पाटी पुरै प्रचारप्रसारमा जुटेको छ । घरदैलोदेखि अन्य सबै किसिमले प्रचारात्मक कार्यक्रमहरु गरिएको छ । प्रचारप्रचारको लागि कुनै पनि कमजोरी गरिनेछैन । केन्द्रदेखि गाउँ तहसम्मका पुरै युनिट प्रचारप्रसारमा जुटेको छ ।
प्रश्न ः खासगरी संविधान बनाउने यो निर्वाचनमा मतदातालाई कसरी आकर्षित गर्दै हुनुहुन्छ ?
यो निर्वाचन संसदको जस्तो निर्वाचन नभई खासगरी संविधान बनाउनको लागि गरिएको निर्वाचन हो । यसमा मतदाताहरु पनि स्पष्ट हुनुहुन्छ । नेपाली काँग्रेसले जनताको हित हुने गरी संविधान बनाउँछ । यसैले नेपाली काँग्रेसको घोषणापत्र र यसका नीति तथा कार्यक्रमहरु गहन रुपमा बुझेर जनताले आफनो मतको सही सदुपयोग गर्छन् भन्ने मलाई लागेको छ ।
हामीमा दलित, जनजाती, आदिबासी, महिला, अल्पसंख्यक समुदाय लगायत हरेक क्षेत्रमा समस्या र त्यहाँ विकासका कामहरु गर्न बाँकी नै रहेकोले त्यसलाई हल गर्न जनताले हामीलाई भोट दिन्छन् भन्ने लागेको छ । यसमा मैले पनि संकल्प गरेको छु ।
प्रश्न ः भनेपछि जनताले तपाईलाई कसरी पत्याउने ?
उत्तर ः म इमान्दार र पार्टी प्रति बफादार सदस्य हुँ । मेरो राजनीतिक चरित्रले पनि यस कुराको पुष्टि गर्दछ । म इमान्दारीतापूर्वक, नैतिकतापूर्वक, पूर्ण जवाफदेहिताका साथ काम गर्न सक्छु । मलाई जनताले विश्वास गरेमा संविधान बनाउने काम सँगसँगै जनताका विकास, निर्माणका काममा मेरो बुँताले भ्याएसम्म गर्छु । यो मेरो उत्तरदायित्व पनि हो र यो मेरो प्रतिबद्धता पनि हो । यसैले जनताले म माथि विश्वास र भरोसा राखेका छन् ।
प्रश्न ः यति ठूलो महत्वको संविधान सभाको निर्वाचनमा वैद्य माओवादीसहित अरु केही पाटीहरुले पनि निर्वाचनमा भाग लिएनन् । यसमा तपाईको प्रतिक्रिया के छ ?
उत्तर ः संविधान सभा सकेसम्म विवादरहित होस् भन्ने सबैको चाहना हो । यसको लागि वैद्यजी हरु लगायत अन्य दलहरुलाई पनि साथमा लिएर संविधान सभा निर्वाचनमा जान पाएको भए जाती हुन्थ्यो । यस्तो हुन सकेन । वहाँहरुलाई पनि संगै लैजान नेपाली काँग्रेसले धेरै प्रयास गरेको हो । हामी त अहिलेपनि वहाँहरु पनि चुनावमा आउनुपर्छ भन्ने मान्यता राख्छौं । तर, अब त प्राविधिक हिसाबले पनि असंभव बनिसकेको छ । एनेकपा माओवादी र एमालेको कारण वैद्यजीहरु लगायत अरु केही दलहरुलाई निर्वाचनमा भाग ल्याउन सकिएन ।
प्रश्न ः तपाईँलाई संविधान बनाउँछौं झैं लागेको छ ?
उत्तर ः अब पनि संविधान नबने यो मुलुक ध्वस्त हुनेछ । दलहरु, नेताहरु पहिलाको गल्तीलाई सच्चाएर मुलुकमा संविधान ल्याउन तयार छौं । जनताको लागि संविधान ल्याउँछौं ।