गौरव पोखरेल/onlinekhabar
१६ वैशाख, काठमाडौं । २०५० देखि ७५ सालसम्म काठमाडौं प्रहरी प्रमुखमा जो प्रमुख भएर आए, हरेकको सूचीमा हुन्थे राजीव गुरुङ उर्फ दिपक मनाङ्ग । चुनाव हुँदा होस् या ‘गुण्डा समूह’सँग जोडिएका जुनसुकै घटना हुँदा होस्, उनी पक्राउ पर्नु सामान्य बनिसकेको थियो ।
पक्राउ परेनन् भने चाहिँ उनी आफैं कनिष्ठ प्रहरीहरुसँग सोध्थे, ‘मलाई … (प्रहरी प्रमुखको नाम) दाइले किन समातेनन् ?’ अधिकारीहरुका अनुसार प्रहरीले पक्राउ नगर्दा उनी छायाँमा परेको महसुस गर्थे, आफ्नो गतिविधि जारी रहेको छनक दिन पनि हिरासत पुग्नुपर्छ भन्ने मान्थे ।
तर मनाङ्गबाट स्वतन्त्र प्रदेशसभा सदस्यका रुपमा गण्डकी प्रदेशसभामा प्रवेश पाएका उनी शुक्रबार मन्त्री समेत बनेका छन् । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले सामाजिक विकास मन्त्रालय फुटाएर मनाङ्गेलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।
२०४० बाटै अपराध यात्रा आरम्भ
प्रहरीको रेकर्डअनुसार मनाङ्गे काठमाडौंको पुरानो गुण्डामध्येमा पर्छन् । २०४६ सालको जनआन्दोलनपछि नेपालमा गुण्डागर्दी मौलाएको हो । उनी पनि त्यसपछि नै ठमेलमा गुण्डाको रुपमा उदाएका हुन् । काठमाडौं प्रहरीमा लामो समय काम गरेका एक अधिकृतका अनुसार मनाङ्गेले ठमेलमा टाउको उठाउँदै गर्दा उपत्यकामा अर्का गुण्डा चक्रे मिलेन मात्रै थिए । ठमेलमा डान्स बार र रेष्टुरेन्टहरु खुल्दै जाँदा मनाङ्गले हप्ता असूली गर्न थालेका थिए ।
प्रहरी अधिकृतहरुका अनुसार उनी ‘सलामी’ भन्दै रकम उठाउँथे । नदिनेहरु उनको समूहको निशानामा परिहाल्थे । उनले होटलहरुमा जम्मा हुने वियरको खाली बोतल समेत छोड्दैनथे । खाली बोतल संकलन गरेर विक्री गर्दा राम्रो कमाई हुने देखेपछि त्यसमा हात हालेका उनले महिनामा १०/१२ लाखसम्म कमाएको एक प्रहरी अधिकृत सुनाउँछन् ।
०५९ सालमा ठमेलको एक्सजोन डिस्कोमा नेपाली सेनाका एकजना मेजरलाई कुटपिट गरेपछि चाहिँ उनी चर्चामा आए । आफू पनि कारबाही गर्ने डरले मेजरले उजुरी त दिएनन्, तर प्रहरी प्रतिवेदनकै आधारमा सार्वजनिक अपराध ऐनअनुसार कारबाही प्रक्रिया अघि बढेको थियो । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले उनलाई एक वर्ष कैद र ५ हजार रुपैयाँ जरिवाना गर्ने फैसला पनि सुनायो ।
तर आफू दिपक मनाङ्गे नभए राजीव गुरुङ भएको दाबी गर्दै सर्वोच्च अदालत गए र उनी रिहा पनि भए । पुनरावेदनमा उच्च अदालत, पाटनले भने दिपक मनाङ्ग र राजीव गुरुङ एउटै भएको प्रहरीको प्रमाणलाई स्वीकार गर्यो र, पुनः एक वर्ष कैद सजायको फैसला भयो ।
त्यही बेला राजधानीमा अरु गुण्डा समूहहरु जन्मिए, मनाङ्गेको प्रभाव कमजोर हुँदै गयो । महाराजगञ्ज क्षेत्रका मिलन चक्रे र चाबहिलका राजु गोर्खालीले गिट्टी बालुवा र जग्गा व्यवसायमा हात हाल्न थाले । मनाङ्गेको रजगज चाहिँ ठमेल क्षेत्रमै सीमित थियो, झगडा मिलाइदिने र हप्ता असूलीले मात्र नपुग्ने भएपछि उनले चक्रेको क्षेत्रतिर हात हाल्ने कोसिस गरे । डिस्कोमा काम गर्ने बाउन्सर गणेश लामालाई पनि उनले आफ्नो समूहमा सामेल गराए ।
काठमाडौंको गुण्डागर्दी दुनियाँमा पकड बढाउने क्रममा उनको समूहको बानेश्वरका मिलन सेक्सीसँग पनि झगडा हुन थाल्यो । पानीपोखरीको चुफाङ रेष्टुरेन्टमा मनाङ्गेको समूहले २१ वैशाख २०६१ मा चक्रे मिलनलाई आक्रमण गर्यो । मिलनको देब्रे हात छिन्यो, मनाङ्गेसहित उनका समूहका रवत कार्की, रमेश सुनुवार, गणेश लामा र उमेश लामाविरुद्ध किटानी जाहेरी पर्यो । घटनामा १८ चैत २०६१ मा उनी पक्राउ परे, कुटपिट कसूरमा उनी दोषी ठहरिए । जिल्ला अदालत, काठमाडौंले २ वर्ष कैद सजायको फैसला सुनायो ।
सजाय काटेर २८ माघ २०६३ मा उनी थुनामुक्त भए । तर जिल्लाको फैसलाविरुद्ध सरकारी वकिलको कार्यालय उच्च अदालत, पाटन गयो । अदालतले ज्यान मार्ने उद्योग ठहर गर्दै ५ वर्ष जेल सजाय सुनायो, अरुलाई सफाइ दियो । त्यसविरुद्ध सरकारी वकिलको कार्यालय सर्वोच्च गयो । अदालतमा मनाङ्गेको तर्फबाट कुनै दाबी प्रस्तुत नभएको र पुनरावेदनको समय पनि सकिएको भन्दै जेल जानुको विकल्प नभएको आदेश भएको थियो । ६ वैशाख २०७५ मा उनलाई काठमाडौं प्रहरीले स्वयम्भुबाट पक्राउ गरेको थियो ।
प्रहरी अधिकृतहरुका अनुसार पछिल्लो समय उनका अपराधिक गतिविधि देखिएका थिएनन् । यद्यपि प्रहरीले उनीमाथि निगरानी छाडेको थिएन, हाल उनी यार्सागुम्बा लगायतका जडिबुटीको व्यवसायी गरिरहेको प्रहरी रेकर्डले देखाउँछ ।