दमौली ३ वैशाख ।
महाभारत , चार वेद र अठार पुराणका रचयिता वेदव्यासको जन्मथलो दमौलीलाई विश्व माँझ चिनाउने उदेश्यका साथ पत्रकार डम्बरबहादुर अधिकारीले नयाँ अभियानको घोषणा गरेका छन् ।
जुन अभियान अन्र्तगत पहिलो चरणमा पत्रकार अधिकारीले आफू सम्पादक रहेको सेतीमादी राष्ट्रिय दैनिक पत्रिकाको अग्रपृष्ठको माथिल्लो भागमा खथबक धबक दयचल ष्ल मबmबगष् िभन्ने श्लोगन सहितको लोगो राख्ने भएका छन् । व्यास ऋषिको जन्म स्थान सेती र मादी नदीको संगम स्थल , नेपालको नक्सा र नेपालको राष्ट्रिय झण्डा समावेश गरिएको लोगोमा ‘विश्व माझ चिनाउने हाम्रो अभियान ’समेत लेखिएको छ ।
पत्रकार अधिकारीले यो अभियान सफल बनाउन इमेल र फेसबुकमा समेत उक्त लोगो प्रयोग गर्ने जनाएका छन् । साथै पत्रकार अधिकारीले व्यासको जन्मभूमि दमौलीलाई चिनाउन व्यास नगरपालिका क्षेत्र भित्र रहेका सरकारी तथा गैरसरकारी कार्यालय , स्कूल ,कलेज र विभिन्न संघसंस्थाको लेटर प्याडमा लोगो राख्न आग्रह गरेका छन् ।त्यस्तै व्यापारिक प्रयोजनका लागि प्रयोग गरिने बिल, होटलको भिजिटिङ कार्ड ,सिनेमा घरको टिकट र विभिन्न कार्यक्रम आयोजना गरिदा प्रयोग गरिने तुल ,व्यान,पोष्टर पम्लेटमा समेत उक्त लोगो राख्न प्रयोग गर्न पत्रकार अधिकारीले सबैलाई आग्रह गरेका छन् ।
त्यसैगरी पत्रकार अधिकारीले व्यासको तस्बिर अंकित हुलाक टिकट प्रकाशित गर्न सरकार संग जोडदार माग गरेका छन् ।
धार्मिक पर्यटनका हिसाबले निकै सम्भावना बोकेको स्थान भएपनि उचित प्रचार प्रसार हुन नसक्दा ओझेलमा परेको भन्दै पत्रकार अधिकारीले यो अभियान अगाडि सारेको बताए । यो अभियानले व्यासको जन्मभूमिलाई विश्व माँझ चिनाउन विशेष योगदान पुरयाउने पत्रकार अधिकारीको भनाई रहेको छ ।
पत्रकार अधिकारीले व्यासको जन्मभूमि दमौलीलाई चिनाउने उदेश्यले यस अगाडि पनि राजधानी , पोखरा र दमौलीमा वेदव्यास सम्बन्धि फोटो प्रदर्शनी गरिसकेका छन् ।