भगवान खनाल
चिनारी ः
महाभारत पर्वत श्रृखंलाको अग्लो मध्येको एक छिम्केश्वरी पहाडको उचाइ २ हजार ३ सय ५० मिटर उचाइ रहेको छ । भौगोलिक रुपले कठीन पहाड भएपनि टाढाचैं छैन । पृथ्वी राजमार्गको आँबुखैरेनी, बरादी, खानीखोलाबाट र डुम्रेबाट बन्दिपुर हुदै हिलेखर्कको बाटो भएर पनि यहाँ पुग्न सकिन्छ भने उता मुग्लिन नारायणगढ सडकको पाँचकिलोबाट पनि जान सकिन्छ । बषौैं पुरानो यस मन्दिरको अस्तित्व गोरखाको मनकामना जत्तिकै रहेको छ । मनकामना र छिम्केश्वरी मन्दिरलाई दिदी बहिनी भनिन्छ । यहाँबाट उत्तरतर्फका सम्पूर्ण हिमश्रृखंलाहरु सजिलै देख्न सकिन्छ भने मसर््याङदी उपत्याकाको शानदार तस्वीरलाई कैद गर्न सकिन्छ । टाकुरा घरविहीन छ । सिर्फ धेरै अघि बनेको पुरानो सानो मन्दिर छ । मन्दिरभित्र घोप्टो परेर बसेकी छिम्केश्वरीमाईको मूर्ति छ । फागुपूर्णिमा, नयाँसाल जस्ता दिनमा पूजाको लागि मानिसहरु आउने गर्छन भने विशेष भाक्कल गरेकाहरु अरु दिनहरुमा पूजाआजाको लागि जाने गर्छन् । बोका र पाठीको बली चढ्छ । एकदिनमै गएर एकदिनमै घर फर्किन सकिन्छ । टाढाका मानिसले एकरात बसेपनि जानी हुन्छ ।
विकासका कदम
छिम्केश्वरी डाँडाको परिसरको विकासमा केही प्रयासहरु भइरहेका छन् । सबैभन्दा उच्च कुरा चाहिँ यहाँको विकासमा नेपाल सरकारको आँखा परेको छ । सरकारी लगानी बितेका दुई तीन वर्ष यता भइरहेको छ । यो नै ठूलो कुरा भएको छ । सरकारले यस ठाउँको विकासको लागि बाटो, बिजुलीदेखि अरु ससाना काममा पनि हात हालिदिएको छ । गाविस, जिविस र केन्द्र स्तरका सरकारी रकमले सडक बनाउने, गाउँमा खानेपानी, विजुली, प्रतिक्षालय, चौतारा, अतिथी गृह निर्माणका कामहरु भएका छन् । यी कामहरुले यहाँको दुर्गमतालाई केही राहत दिएको छ । यी कार्यहरु नयाँ र सुरुवाती काम मात्र हुन् । मनग्य छैनन् । दश बाह्र वर्ष अघि जिटिजेडले कामको लागि खाद्यान्न अन्तर्गत खनेको सडक र आँबुखैरेनी भाँगे हुदै बासपानीसम्म लगिएको बाटो जोडिन एक किलोमिटर पनि छैन । यी दुवै बाटो जोडिएपछि बन्दिपुर, हिलेखर्क र आँबुखैरेनी चक्रपथको रुपमा जोडिनेछ । तर, हिलेखर्कबाट छिम्केश्वरी आउने बाटोमा रहेको एक पहरा भने काम हुन बाँकी छ । यो पहरो अलि कठीन छ ।
राष्ट्रिय योजना आयोग मार्फत सालिन्दा छिम्केश्वरीमा थोरैतिनो रकम आउने वातावरण निर्माण भएको छ । जगदीशचन्द्र पोख्रेल योजना आयोगको उपाध्यक्ष भएको बखत केही राष्ट्रिय योजनामा रातो किताबमा पारिदिएपछि छिम्केश्वरी परिवर्तनको दिशामा उन्मुख छ । शहरी विकास तथा भवन डिभिजन निर्माण विभाग गोरखाले छिम्केश्वरीको समग्र विकासको लागि गुरुयोजना तयार गरेको छ । यो अर्को उच्चकोटीको उपलब्धी हो । यसै अनुरुप सालिन्दा यहाँको विकास कार्य भैरहेको छ । मन्दिर परिसरमा प्रतिक्षालय र ससाना तीनवटा चौतारा बनिसकेका छन् । यस वर्ष पनि ३ लाख ५० हजार बजेट परेको छ । यस रकमले मन्दिरको पश्चिम छेउमा रेलिङ बनाइने स्थानीय रुपमा गठित छिम्केश्वरी पर्यटन विकास पूर्वाधर उपभोक्ता समितिका अध्यक्ष देवीलाल गुरुङ बताउँछन् । पहिला भन्दा छिम्केश्वरीको अवस्थामा केही परिवर्तन भएको उनले बताए । उनी घरपरिवार नै त्यागेर गाउँको विकासमा अहोरात्र खटिरहेका छन् । गाविस, जिल्ला, क्षेत्र र केन्द्रमा देवीलालले छिम्केश्वरीको संस्कृति र समस्यालाई सँगसँगै पुराएका छन् । छिम्केश्वरीमा भएका केही नयाँ कामहरुमा देवीलालको कहिल्यै नभुल्ने योगदान रहेको छ ।
बाटोको कारण पृथ्वीराजमार्गको आँबुखैरेनीदेखि आँबुखैरेनी गाविसको बाँसपानीसम्म वर्तमानमा धुले, कच्ची तर फोर ह्विलको मोटर चल्ने सुविधा पुगेको छ । यही सुविधाको कारण यस वर्षको होलीमा गोरखा, मुग्लिन, डुम्रेबाट रिजर्भमा मानिसहरु छिम्केश्वरी मन्दिर दर्शन गर्न पुगेका थिए । यो सुखद पक्ष हो । एक दर्जन बढी मोटरसाइकल लाब्दी गाउँको फेदीमा पुगेका थिए । एक अतिथी गृह बनेको छ । यसकै आडमा अहिले नयाँ पसल पनि खुलेको छ । आँबुखैरेनी बजारबासीको सक्रियतामा दुईपटक छिम्केश्वरी महोत्सव सम्पन्न भइसकेको छ । माथिको मानिस तात्नुपर्नेमा तलका मानिसले छिम्केश्वरीको विकासमा सक्दो प्रयास गरिरहेको आँबुखैरेनी गाविसका पूर्व जननिर्वाचित अध्यक्ष ऋषी के. सी बताउँछन् । “उनीहरु तातेमा हामीलाई हिडाउँन पनि सजिलो हुन्थ्यो,” के.सीले भनें, “बीड मात्रै तातेर के गर्नु, पहिला त ताप्के नै ताप्नु पर्यो नी !”
छिम्केश्वरीको समस्या ः
स्थानीयहरुको दिनुहँको पलायनले छिम्केश्वरी समस्याग्रस्त छ । गाउँमा बुढाबुढी र बालबालिका मात्रै छन् । नयाँ र केही गरौं भन्ने भावनाका युवाहरु वैदेशिक रोजगारमा गएका छन् । चेतनाको कमीले गर्दा यहाँको विकास अझै सोचेजसरी हुन सकेको छैन । तैपनि धीमा गतिमा बर्कतले भ्याएसम्म सोझा गाउँलेहरु केही गर्ने प्रयासमा छन् । उनीहरुले सरकारी योजनाहरुलाई सकेको साथ दिएका छन् । श्रमदान गरेका छन् । सीपका काममा आफैंले काम गरेका छन् ।
यसले हिजोहिजोको जस्तो दुरुहता अहिलेका दिनमा छिम्केश्वरी पहाडमा छैन । यद्यपी मन्दिरको अवस्था उस्तै छ । यहाँको प्राकृतिक सुन्दरताको रुपमा रहेको खासगरी लालीगुराँसको जंगल मासिदै गएको छ । यहाँका दुलर्भ प्रजातिका वनस्पतिहरुको पनि संरक्षण हुन सकेको छैन । भोलिका पुस्तालाई चिनारीको रुपमा जोगाएर राख्नुपर्ने र खासगरी वातावरणलाई संरक्षण गर्न वनस्पतिहरु जोगाउनु पर्छ । यसमा स्थानीयको होस खुलोस् ।
संभावना ः
छिम्केश्वरीमा आन्तरिक पर्यटनको संभावना भएपनि सोचेजसरी हुन सकेको छैन । यहाँको पर्यटन विकास गर्न जिल्ला पर्यटन विकास समिति तनहुँले केही प्रयास गरेको भएपनि त्यो प्रयास अझै सार्थक भएको छैन । छिम्केश्वरीमा हुने मकै र कोदो मात्र हो । मकैको च्याख्ला(भात) र लोकल कुखुराको रससँग खुवाउन पाएमा त्यो चिनारी बन्नेछ । यस्तै कोदोको ढिंडो, रोटी र रक्सी पनि चिनारी बन्नसक्छ । यसको लागि अरुको मुख ताक्नुपर्दैन । गाउँलेले खेती गर्ने र बनाएर खुवाउन जाने हुन्छ । यस्तै छिम्केश्वरीको साग र गुन्द्रक लाई बजारीकरण गर्न सकेमा पनि केही आम्दानी हुन्छ । लाब्दीको पाते सुर्ती उतिबेला ठोरीमा नुन लिन जान आउनेको रोजाइमा थियो । पाते सुर्तीको खेती अहिले दुर्लभ बनेको छ । राज्यको कानूनले छेक्दैन भने पाते सुर्ती खेती गर्दा स्थानीयको आम्दानी बढ्छ । कोदोको ढिंडो र लोकल कुखुराको मासुको साथमा गुन्द्रक र भट्मास साँधेको अचार मात्रै आगुन्तकलाई बेच्न सके त्यो पनि ब्रान्ड बन्न सक्छ । यसमा गर्ने उनीहरुले नै हो । यसमा स्थानीयको खासै ध्यान गएको छैन । बजारमा पाइने चाउचाउ, ढुंग्रे, पु्रmटी र बजारीया रक्सी बेचेर पहिचान बन्दैन ।
उनीहरुलाई अतिथी सत्कार, भान्सा र बास सम्बन्धि तालिम आवश्यक छ । सफा खानेकुरा बनाउने तालिम दिनुपर्छ । मानिसको सरसफाइमा ध्यान दिनुपर्छ । कम घरहरु कम पनि न्युनतम सुविधा बढोत्तरी गरेर होमस्टे गराउन पनि सकिन्छ । like and share for promote chimkeshwori tourism