भगवान खनाल
६ माघ
पुष २१ गते नेपालमै पहिलोपटक प्रहरीले गोरखाको थुमीमा अमुल्य चिरुको भुत्ला बरामद ।
पुषको २८ गते सिर्दिबासको लामोचौताराबाट दुई थान पाटे बाघको छाला, ५३ किलोग्राम हड्डी र १ लाख ८० हजार ९ सय ४० रुपैयाँ नगद बरामद ।
माघ २ गते सिर्दिबासको फिलिमबाट ७९ हजार चाइनिज रुपैयाँ बरामद ।
यी उदाहरणहरुले गोरखाको आरुघाटदेखि माथिका उत्तरी क्षेत्रहरु तस्करहरुको अवैध कारोबारको नयाँ रुट बनेको देखिन्छ । उत्तरी क्षेत्रमा भन्सार कार्यालय नरहनु, स्थानीयको चेतनाको अभाव र स्थानीयकै अवैध कारोबारीसँगको मिलिमतोको कारण गोरखाको उत्तरी क्षेत्रलाई तस्करहरुले ‘नयाँ रुट’को रुपमा प्रयोग गरिरहेका हुन् । तीनवटै मुद्धामा उत्तरी क्षत्रेकै स्थानीयहरु भरिया र अन्य सहयोगीको रुपमा पक्राउ परेका छन् । भौगोलिक दृष्टिले दुर्गम र अपायक हुनुको कारण प्रशासन र प्रहरीको आँखा नपुग्दा उत्तरी गोरखा तस्कर र अपराध गर्नेहरुको नयाँ रुट बनेको हो । उता, स्थानीयहरु गलत मनासय बोकी चेतना अभावका कारण पैसाको मोहजालमा फसी प्रहरीलाई सुराक दिनुको ठाउँमा उल्टै सहयोगी बन्दा उत्तरी गोरखा तस्करीको भर्जिन ठाउँ बनिरहेको छ । यस कार्यमा २५ देखि ३५ वर्ष उमेरका युवाहरु तस्कर बन्ने र सहयोगीका बनेका छन् । कतिपय अवस्थामा वैधानिक रुपमा तिब्बत निकासी वा नेपाल आयात गर्न इजाजत लिएकाले अवैध धन्दा पनि गरिरहेका छन् ।
उत्तरी क्षेत्रको प्रवेशद्धार आरुघाट, आर्खेत, मान्बु, माछीखोला, सिदिबास, छेकम्पार र सामागाउँमा प्रहरीको फिल्ड कार्यालयहरु छन् । उता प्रशासनको अभिलेखमा चाहिँ गोरखामा ‘लार्के भन्सार’ कार्यालय रहेको देखिएपनि फिल्डमा कर्मचारी बसेको पाइदैन । उनीहरु आरुघाटमा बसेर दाम काम लिने गर्छन् । नाम मात्रको भन्सार कार्यालय भएर मात्र नहुने प्रहरी बताउँछन् । श्रोत साधन नभइ भन्सारको बोर्डले मात्र काम गर्न नसक्ने प्रहरी बताउँछ ।
उत्तरी क्षेत्रलाई तस्करहरुको ट्रान्जिटभन्दा पनि नयाँ रुट चाहिँ मान्न सकिने गोरखाका प्रहरी नायब उपरीक्षक बसन्तबहादुर कुँवर बताउँछन् । “ट्रान्जिट चाहिँ त नभनौं, नयाँ रुट चाहिँ अवश्य नै हो,” डिएसपी कुवँरले कारोबारसँग भनें ।
प्रहरीले लिने सक्रियतामा कुनै कमी नभएपनि कतिपय अवस्था र प्रहरी इकाइहरुमा करियर बनाउन चाहने प्रहरी अधिकृतको कमी वा मोटिभेटेड अधिकृतको अभावमा भनेजसरी काम गर्न नसकिएको कुवँर बताउँछन् । चिरुको भुत्लाको ओसारपसार भइरहेको बारेमा गोरखा प्रहरीले पनि केही सुराक पाएको र प्रहरीकै सक्रियताको कारण तीन÷चार दिनसम्म तस्करले माल डम्प गर्न वाध्य भयो । कुवँर भन्छन्, “मोटिभेटेड अफिसर फिल्डमा नहुँदा हामीले तत्कालै पक्रन सकेनौं ।” प्रहरीको सक्रिताकै कारण साविकका बाटो नभई अन्य गुप्त बाटोको पनि प्रयोग भइरहेको छ । धादिङ र गोरखाको प्रहरीले उत्तिकै समन्वयमा काम गर्नुपर्ने आवश्यकता रहेको छ ।
तस्करहरुले गोरखाको उत्तरी क्षेत्रलाई दुई रुपमा प्रयोग गरिरहेको गोरखाका प्रहरी निरीक्षक सुनिलजंग शाहले बताए । “एकाथरिले तिब्बत हुदै चीन निकासी गर्ने र तिब्बतबाट गोरखाको बाटो हुदै भारत र अन्य तेश्रो मुलुक निकासी गरेको देखिन्छ,” शाहले कारोबारसँग भनें, “यसलाई प्रहरीले गम्भीरतापूर्वक लिएको छ र यसैको परिणाम स्वरुप पछिल्ला दिनहरुमा केही प्रगति पनि हासिल भएको छ ।”
नेपाल प्रहरीले अहिलेसम्मकै रेकर्डलाई बे्रक गर्ने गरी अमुल्य अवैध चिरुको भुत्ला गत पुष २१ गते गोरखा थुमी–६, केयरपानीबाट बरामद गरेको हो । साइटिस सन्धीले दुर्लभ भनि प्रतिबन्ध लगाएको चिरुको भुत्ला तस्करहरुले चीनको तिब्बत सिमानाबाट नेपाल आयात गरी गोरखाको सिमानाहुदै भारततर्फ निकासी गर्दै गरेको अवस्थामा नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्युरोसहित गोरखा प्रहरीको टोलीले पक्राउ गरेको हो । प्रहरीले प्रति बोरा २५ किलोग्रामका दरले ४६ बोरा चिरुको भुत्ला थुमी–६ की शर्मिला बरामको घरमा लुकाएर राखेको अवस्थामा बरामद गरेको थियो । सो क्रममा स्थानीय पूर्णबहादुर बरामलाई पनि फक्राउ गरी अुनसन्धान थालिएको छ । अवैध चिरुको भुत्लाको कारोबारमा उत्तरी गोरखाकै एक जना सक्रिय रहेको प्रहरीले बताएको छ । “चिरु तस्करको पहिचान गरिसकिएको छ,” गोरखाका प्रहरी नायब उपरीक्षक बसन्तबहादुर कुवँरले भनें, “अहिलेनै नाम सार्वजनिक गर्दा अनुसन्धान प्रभावित हुन सक्छ ।” उसले त्यहाँ बसेर अन्य किसिमका तस्करी पनि गर्ने गरेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।
यसैगरी, पाटेबाघको छाला,हड्डी र नगदसहित थुमी–३ का निरबहादुर बराम(३४), शेरबहादुर बराम(३६) र छेकम्पार–९ का मिङग्युर दोर्जे लामा(३६) र पेम्बा छेवाङ लामा(२४) पक्राउ परेका छन् ।
काठमाण्डौं स्वयम्भुबाट एक चिनियाँ नागरिकले दिएको सामान बसमार्फत आरुघाट हुदै भरियालाई बोकाएर सिर्दिबास–८ लामोचौतारा पु–याइसकेको अवस्थामा प्रहरी पिछा गर्दै पक्राउ गरेको थियो । स्थानीय छुलेनिले प्राथमिक विद्यालयको अस्थायी शिक्षक समेत रहेका मिङग्युरले सो सामान जिम्मा लिई सिर्दिबास उकालिसकेका थिए । प्रहरी हिरासतमा रहेका मिङग्युरले भनें, “तिब्बतमा सामानहरु किन्न जादा चिनेको तेन्जिङले सामान ५० हजार रुपैयाँ दिन्छु भनेकोले लिएर गएको हुँ ।” मिङग्युरका अनुसार तिब्बत पुराएर कुनै व्यापारीको पसलमा राख्न र पन्ध्र दिनपछि लिन आउँछु भनेर तेन्जिङले आदेश दिएको थियो ।
यस्तै पछिल्लोपटक माघ २ गते ल्हो–८ को सोनाम दोर्जे लामा(३१)को साथबाट सिर्दिबास–८ फिलिङबाट प्रहरीले अवैध चिनियाँ येन ७९ हजार बरामद गरेको छ । गोरखा प्रहरीले करिब चार महिना अघि एक व्यापारीको साथबाट सतुवा नामक जडिबुटी लुटपाट गर्ने सात जनालाई पक्राउ गरेको थियो ।
उत्तरी गोरखा हुदै सुन, रक्तचन्दन, जडिबुटी र वन्यजन्तु लगायतका अन्य अवैध चिजहरु निकासी पैठारी हुन सक्ने संभावना मुख्य थे्रट रहेको डिएसपी कुँबर बताउँछन् ।