भगवान खनाल
गोरखा, २२ पुष
भर्खरै खुलेको ट्रयाक । डोजरले जस्तो खनेको छ उस्तै छ बाटो । न ग्राभेल छ, न त नाली । बाटोसम्मै आइपुगेको छ, बनमासा र रुखका हाँगाविंगा । घुम्ति, मोड र उकालो ओरालो उस्तै कमजोर छ । केही स्थानमा बाहेक दुईतर्फी साइड दिन मिल्ने ठाउँ कतै छैन । तर, पनि चालकहरुले बस हाँकेका छन् । ग्रेडिङ नमिलेको, घुम्ति नपुग्ने कच्ची बाटोका चालकनै सर्वेसवा हुन् । चालकले विना गल्ती प्रस्थान बिन्दुबाट गन्तव्यसम्म बसलाई ल्याई पु–याउँछन् ।
यो व्यथा गोरखाको घ्याल्चोक आरुघाट रुटको हो । यो रुटको हैसियत अहिलेनै बस चलाउने स्थितिको छैन । यातायात व्यवसायी समिति गोरखाले दुई वर्षयता नियमित यात्रुबाहक बस हालेको छ । जनतालाई सुविधा दिन समितिले बस हालेको र यसबाट जनताहरु लाभान्वित भइरहेको एक जना बस व्यवसायी दिपकजंग थापाले बताए । नाफा नोक्सान भन्दा पनि जनतालाई सेवा दिने उद्देश्यले समितिको छ । भविष्यमा कमाइ हुने आशमा अहिले कम लाभ भएपनि बस सुविधा दिइरहेका छन् व्यवसायीहरु । यो रुटमा हिउँदमा बस चलाएपनि बर्षामा बन्द हुन्छ । ९ वटा बस वर्षा याममा बन्द गरेर राख्नुपर्ने थापाले बताए । काम नभएपनि चालकलाई वर्षामा पालिरहेका छौं ।
चालकको होसियारीले सबैको यात्रा कुशलमंगल चलिरहेको छ दुईवर्ष यता । दुई वर्षदेखि यो रुटमा बस गुडाउँदै आएका चन्द्रप्रसाद पोख्रेल भन्छन्, “हामीलाई यस्तै बाटो पनि पक्की जस्तै भएको छ । दुई वर्षमा नराम्रो सुन्नु परेको छैन ।” “बाटो अझ कतैकतै हल्का सुधारिएको हो,” चालक पोख्रेलले भनें, “नत्र त बसको एउटा पाँग्रा कतै भीर पनि पर्दथ्योे ।” बाटो जस्तो भएपनि समितिले रुट कायम गरेर बस चलाउने निर्णय गरेपछि चालकहरुलाई गाडी चलाउनुको विकल्प छैन ।
करिब ४० किलोमिटर दुरीको आरुघाट–घ्याल्चोक खण्डले आरुचनौटे, तान्द्राङ, धावा, बोर्लाङ, बुंकोट, नामजुङ, दर्वुङ, फुजेल गाविसलाई जोडेको छ भने आरुघाट माथि सोतीसम्म जोडेको छ । आरुघाटबाट करिब ७ किलोमिटर आर्खेतसम्म समितिले रुट कायम गरी बस सुविधा दिएको छ । त्रिशुली नदीको बेनिघाटमा धादिङ र गोरखा जोड्ने पक्की पुल निर्माणाधीन रहेकोले यो सडकले कालान्तरमा तिब्बत र तराई जोड्ने अपेक्षा राखेको छ ।
घ्याल्चोक–आरुघाट सडक माओवादी द्धन्द्धको समयमा जर्मन सहयोग नियोगले कामको लागि खाद्यान्न कार्यक्रम अन्तर्गत खन्न शुरु गरेको थियो । माओवादी द्धन्द्ध चर्किदै गएपछि काम गर्न प्रतिकुल भएको थियो । यसपछि गणतन्त्रपछि ट्रयाग खोल्ने काम तल्लो क्षेत्रमा समाप्त भएपछि निरन्तरता दिएर विस्तारै ट्रयाग खोल्ने काम तल्लो खण्डमा समाप्त भएको हो भने माथिल्लो खण्डमा भने जारी छ ।