तनहुँको आँबुखैरेनीबजारमा अव्यवस्थित पार्किङ र फुटपाथ अतिक्रमणले सर्वसाधारणलई चर्को समस्या भएको छ । पृथ्वी राजमार्गको अति व्यस्त चोक आँबुखैरेनीमा पैदल यात्रुनै हिड्न नमिल्ने गरी अव्यवस्थित पार्किङ र सडक किनारा ढाकिने गरी राखिएका सामग्रीले पैदल यात्रा गर्न समस्या पारेको हो । अव्यस्थित पार्किङले सवारी साधन आवगमनमा पनि उत्तिकै समस्या ल्याएको छ ।
पार्किङको समस्या हल गर्ने पहल भइरहेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक लेमप्रताप सेनले बताए । चोकको वरीपरी एक सय मिटरमा गाडी रोक्न नपाइने नियम बनाइएको सेनले बताए । “प्रहरी, गाविस र स्थानीय बासिन्दाबीच गाविस कार्यालयमा केही दिन अघि भएको छलफलले चोक क्षेत्रमा एक सय मिटर दुरीमा सवारी पार्किङ गर्न नदिने निर्णय गरिएको छ,” सेनले भनें, “ यसको लागि प्रहरीले ट्राफिक स्ट्याण्ड समेत व्यवस्था गरिसकेको छ ।” चोक जतिबेला पनि व्यस्त हुनेभएकोले गाडी पार्किङ व्यवस्थित ढंगले नगर्दा कति बेला को के चेपिने हो भन्ने त्रास रहेको स्थानीय हरि श्रेष्ठले बताए ।
आँबुखैरेनी बजारमा फुटपाथ ढाक्ने गरी पसलेहरुले सामान राख्दा पैदल यात्रा गर्न समस्या भएको छ भने यसले बजारको सौन्दर्यलाई पनि बिगारेको छ । स्थानीय मानिसहरुको वेवास्ता र प्रहरी प्रशासनको वेवास्ताको कारण फुटपाथ अतिक्रमण बढेको छ । पींच सडकसम्म ढाकेर फलफूल, ग्यास सिलिन्डर, टिभी, फ्रिज, निर्माण सामग्री राखेका छन् । बजारका अधिकांश पसलेले सटर र कोठा बाहिर सामानहरु राखेका छन् । आँबुखैरेनी क्याम्पसका सहायक प्राध्यापक प्रकाशचन्द्र ढकाल सबै पसलेले सामानहरु भित्र राख्नुपर्ने बताउँछन् । सडक नियम मिचेर घर बनाउने र फुटपाथमा सामान राख्नेले सडक किनारामा मानिस उभिदा र मोटरसाइकल रोक्दा समेत पसल छेकियो भनेर कराउने गरेको पाइएको ढकालले बताए ।
दिनुहँ सडक मिचेर हिडडुल गर्न अप्ठेरो बनाउँदै सडक मुनीबाट सटर झिक्ने काम तीब्र हुदै आएपनि सडक कार्यालय र स्थानीयबासीहरु मौन छन् ।
यसैगरी आँबुखैरेनी चोकमा रहेको चिसापानी खोलाको पुलमा समेत स्थानीयले पसल बनाएर भाँडामा लगाएका छन् । सडक नियम विपरित उनी पुल छोपेर घर बनाएपनि सडक कार्यालय भने कानमा तेल हालेर बसेको छ ।