भगवान खनाल ,आँबुखैरेनी । गोरखकाली रबर उद्योग लिमिटेड नयाँ योजनाका साथ अघि बढ्ने भएको छ । उद्योग व्यवस्थापनले नयाँ योजनाहरु बनाइसकेको र केही समयपछि ती योजनाहरु सरकारलाई बुझाउने भएको छ । उद्योग संचालनको बिस वर्षसम्म आइपुग्दा लगातार घाटामा गएको उद्योगलाई निरन्तर संचालन गर्न नयाँ योजनाहरु बनाइएको हो । उद्योगलाई (ब्रेक इभन ) नाफा नोक्सान बराबर हुन गर्न व्यवस्थापनले सुधार योजना बनाएको उद्योगका महाप्रबन्धक दिनेश बर्तौलाले बताए । वर्तमानको लागत हेर्दा ५५ प्रतिशत उत्पादन नभई ब्रेक इभन नआउने भन्दै बर्तौलाले आन्तरिक तथा अन्य केही सुधार गरेर उत्पादन क्षमता बढाउने बताए । उद्योगले डिजेल प्लान्टको सट्टामा भुसे चुलो र विद्युतिय शक्तिको प्रयोग गरेमा ४५ देखि ५० प्रतिशतसम्म उत्पादन बढाउन सकिने बर्तौलाले बताए । अहिलेको संरचनामा ५० प्रतिशत क्षमता उत्पादन गर्न कम्तिमा पनि चारपाँच वर्ष लाग्छ । उद्योगले अहिलेसम्म जम्मा चालिस प्रतिशत उत्पादन गर्दै आएको छ । पावर यूटिलिटी कस्ट घटाउन सकेमा करोडौं बचत हुन्छू उनले भनें यसको लागि डिजेलको सट्टा विद्युतको प्रयोग गर्नुपर्ने हुन्छ । उद्योगले हालसम्म बार्षिक रुपमा सरदर ६० करोड रुपैयाँ बराबरको टायर उत्पादन गरेपनि कच्चापदार्थ र इन्धनमा मात्रै ४५ करोड रुपैयाँ खर्च लाग्छ ।
गत माघमा अर्थमन्त्रीले रबर उद्योगलाई संचालन गर्नेभए व्यवस्थापनलाई चालू आर्थिक वर्षभित्र नयाँ योजनाका साथ अघि बढ्न कडा निर्देशन दिएका थिए । व्यवस्थापनले चालू आर्थिक वर्षको बाँकी तीन महिनामा मासिक बीस दिन गरी साठी दिन उद्योग संचालन गर्ने योजना बनाएको छ । चालू आर्थिक वर्षको फागुन मसान्तसम्म जम्मा ३२ दिन संचालन भएको उद्योगलाई बाँकी तीन महिना साठी दिन चलाउने योजना बनाएका छौं महाप्रबन्धक बर्तौलाले भनें यो योजना कस्तो हुन्छ त्यस आधारमा अर्को आर्थिक वर्षको योजना बनाउँछौं ।
मासिक बीस दिन संचालन गर्नको लागि चालू पूजीँकै अभाव हुने उनी बताउँछन् । यसको लागि १२ करोड रुपैयाँ बराबरको कच्चा पदार्थ चाहिन्छ । यो रकम उद्योगसँग छैन । उद्योगमा नभएपछि त सरकार या कसै न कसैले सहयोग त गर्नै पर्छ, उनले भनें यदि सरकारले गर्दैन भने साझेदार खोज्नुपर्छ संचालक समितिले त पहिलेदेखि नै साझेदार खोजी रहेको पनि छ ।