काठमाडौ,चैत ७
सरकारले मधेस आन्दोलनका क्रममा रूपन्देहीको मर्चवारमा मारिएका माओवादीका दुई कार्यकर्ता विनोद पन्त र शेषमणि लामिछानेलाई गोप्य रूपमा सहिद घोषणा गरेको कुरा बाहिर आएको छ । शहिदको परिभाषा सिफारिस गर्न माओवादीका नेता नवराज सुवेदीको अध्यक्षतामा गठित समितिले प्रतिवेदन दिनुअघि दुई माओवादी कार्यकर्तालाई गोप्य रूपमै सहिद घोषणा गरेको हो ।माओवादी नेतृत्वको मन्त्रिपरिषद्को फागुन १५ को बैठकले उनीहरूलाई सहिद घोषणा गर्ने निर्णय गरे पनि हालसम्म सार्वजनिक गरेको छैन ।
सरकारले दुवै जनाको पीडित परिवारलाई राहतस्वरूप १०/१० लाख रुपैयाँ र उनीहरूका छोराछोरीलाई निःशुल्क रूपमा पढाइदिने निर्णयसमेत गरेको छ । मधेस आन्दोलनका क्रममा ०६४ जेठ ३० मा मारिएका माओवादी गण्डक राज्य समितिका सदस्य पन्त र वाईसीएल केन्द्रीय सदस्य लामिछानेलाई सहिद घोषणा गरेको हो ।
पन्त तनहुँको आँबुखैरेनी र लामिछाने तनहुँकै बन्दिपुर-८ का हुन् । । मधेस आन्दोलनका क्रममा मर्चवारमा आन्दोलनकारी र माओवादीबीच भएको झडपमा पन्त र लामिछाने मारिएका थिए । माओवादी दबाबमा जिल्ला सुरक्षा समिति रूपन्देहीले ०६७ असार ३० मा निर्णय गरी उनीहरू दुवैलाई सहिद घोषणा गर्न सिफारिस गरेको थियो ।