काठमाडौं, चैत ६
साभार नेपाल हरिजन डटकम : पूर्ब राजा ज्ञानेन्द्र शाह तीनवटा पूर्ब पञ्चका पार्टीहरु मिलाएर नयाँ एकीकृत पार्टी बनाई अध्यक्ष बन्ने प्रयासमा लागेको थाहा भएको छ। उनले तत्कालका लागि गणतन्त्र कि राजतन्त्र भन्ने बिबाद नगर्न राप्रपा, राजपा, र राप्रपा नेपालका नेताहरुलाई निर्देशन दिएको बताइएको छ। भारत भ्रमणबाट फर्केपछि ज्ञानेन्द्रमा राष्ट्रपति बन्ने धुनसबार भएको कतिपयको भनाई छ। राष्ट्रियप्रजातन्त्र पार्टी र राष्ट्रिय जनशक्ति पार्टीले संवैधानिक राजतन्त्र मान्न अस्वीकार गरेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालसागको एकीकरणको प्रयास तुहिएको थियो।
काठमाडौंको विशालनगरमा भएको भनिएको पछिल्लो बार्तामा संवैधानिक राजतन्त्रका बिषयमा सहमति हुन नसकेपछि बार्ता भंग भएको थियो। बार्तामा राप्रपा नेपालका अध्यक्ष कमल थापा सवैधानिक राजतन्त्र नमान्ने हो भने राप्रपा र राजपासाग पार्टी एकीकरण हुन नसक्ने भन्दै बैठक स्थलबाट बाहिरिएपछि केही दिन बार्ता रोकिएको थियो। बार्ताका लागि राप्रपा र राजपाका तर्फबाट महामन्त्री दीपक बोहरा र केशरबहादुर विष्ट गएका थिए । हालै निर्मल निवासमा पूर्ब राजा ज्ञानेन्द्रलाई भेट्न गएका राजपाका अध्यक्ष सूर्यबहादुर थापासँग ज्ञानेन्द्रले बिस्तृत छलफल गर्नु भएपछि तीन पार्टी एकता निकट पुगेको जानकारहरुको भनाई रहेको छ।