समुन्द्र पौडेल, (रानीगाउँ) तनहुँ, जेठ ३१- घरको एक्लो छोरा अर्जुन डिभी परेर विदेश गए पनि उनकी आमा गंगा पौडेल सधैँ उनकै चिन्तामा हुन्थिन्। सात समुद्रपारि पुगेको छोरो लामो समयसम्म नफर्किएपछि आमाले फोनमा बारम्बार स्वदेश फर्कन आग्रह गरेकी थिइन्।
परिवारजनसँग अर्जुनले दशैँमा घर फर्किने विश्वास पनि दिलाएका थिए। अडाइ वर्षअघि अमेरिका जान विदा मागेर हिँडेका अर्जुन संसारबाट सदाका लागि विदा परिवारजन स्तब्ध छ।
डिभी परेर अमेरिका पुगेका तनहुँ व्यास ३, रानीगाउँका अर्जुन पौडेल गत शनिवार साँझ किङ्स्टनस्थित आफ्नै कोठामा मृत अवस्थामा फेला परेपछि दशैँमा छोरासँग भेट्ने गंगाको सपना अधुरै रह्यो।
‘दशैमा घर आउँछु भन्नु भएको थियो’, अर्जुनकी श्रीमती लक्ष्मीले भनिन, ‘आमाले धेरै चिन्ता गर्नु भएकाले दशैँमा आउन टिकट काटिसक्नु भा’छ समेत भनेका थियौँ।’ २०६५ वैशाखमा लमजुङ सोतीपसलकी लक्ष्मी खनालसँग विवाह बन्धनमा बाधिएका पौडेल २०६६ कार्तिकमा अमेरिका उडेका थिए। लक्ष्मीले भनिन्- ‘डिभी भर्दा विवाह नभएकाले उहाँको मात्र नाम थियो।’
शुक्रबार बिहानमात्र श्रीमानसँग सन्चो बिसन्चो सोधेकी लक्ष्मीले २ दिन बित्न नपाउँदै श्रीमान मृत्युको खबर सुन्नु पर्योम। ‘फोन गर्दा गर्दै काममा जान हतार भयो भन्दै फोन राख्नुभयो।’ उनले भनिन, ‘सधै २/३ पटक मिसकल गर्दा फोन गर्ने उहाँले आइतबार भने २०/२५ पटक फोन हान्दा पनि उठाउनुभएन्।’
शुक्रबार बिहान श्रीमतीलाई फोन गर्दा अर्जुनले आफ्नी दिदी, काठमाडौंमा उपचारार्थ रहेकी आमा र आफ्ना मामालाई समेत फोन गरेका थिए।
एक हप्ता अगाडि श्रीमानलाई घर फर्किन आग्रह गर्दै म्यासेज पठाएकी लक्ष्मीले श्रीमानले पठाएको म्यासेज अझै पाएकी छैनन्। ‘उत्तर नआएपछि मैले त्यही म्यासेज ३ पटक फर्वाड गरे।’ उनले भनिन, ‘म्यासेजको रिप्लाई पठाएको थिए, पायौ भनेर फोन आएको थियो तर अहिले सम्म मोबाइलमा उहाँले पठाएको म्यासेज आएको छैन्।’
सासुको हात अप्रेसन गर्न काठमाडौं जानु पर्ने भएपछि घरको रेखदेखका लागि रानीगाउँ आएकी लक्ष्मी झण्डै एक महिनादेखी रानीगाउँमै बस्दै आएकी थिइन्। लक्ष्मी अहिले काठमाडौंस्थित ग्रामिण आदर्श कलेजबाट अंग्रेजी विषयमा एमए दोश्रो वर्षमा अध्ययन गर्दै छिन्।